बिरगञ्ज । मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनीले बिरगञ्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले सामाजिक सञ्जालमार्फत गरेको भनिएको खुल्ला वैचारिक प्रतिस्पर्धा (बहस) को आह्वान स्वीकार गर्दै आफू जुनसुकै सार्वजनिक मञ्चमा खुल्ला बहस गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
सहनीका अनुसार सार्वजनिक रूपमा बहसको आह्वान गरिए पनि त्यसपछि अहिलेसम्म घिमिरेको तर्फबाट बहसको मिति, स्थान वा प्रक्रिया सम्बन्धी कुनै औपचारिक प्रस्ताव वा प्रतिक्रिया आएको छैन। उनले सामाजिक सञ्जालमा चुनौती दिने तर औपचारिक रूपमा अगाडि नबढ्ने प्रवृत्तिले सार्वजनिक प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।
सहनीले वैचारिक विषयमा व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा तथ्य, तर्क र प्रमाणका आधारमा खुला बहस हुनुपर्ने धारणा व्यक्त गर्दै यदि वास्तवमै चुनौती गम्भीर थियो भने त्यसलाई व्यवहारमा पनि पुष्टि गर्न आग्रह गरेका छन्।
मधेस जागरण अभियानले सार्वजनिक सरोकारका विषयमा खुला बहस लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै सम्बन्धित पक्षलाई औपचारिक रूपमा मिति, समय र स्थान तय गरी बहसमा सहभागी हुन आग्रह गरेको जनाएको छ।
अब बहसको आह्वान गर्ने पक्षबाट औपचारिक प्रतिक्रिया आउँछ वा आउँदैन भन्ने विषयलाई सर्वसाधारणले पनि चासोका साथ हेरिरहेका छन्।


