बिरगंज–३१ को श्री लक्ष्मीदेवी बाबुलाल हाँस बाहनी माविमा शिक्षकको लापरबाही, विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयको आरोप
बिरगंज महानगरपालिका–३१ कोन्हियामा रहेको श्री लक्ष्मीदेवी बाबुलाल हाँस बाहनी माध्यमिक विद्यालयका शिक्षकहरू नियमित समयमा विद्यालय नआउँदा विद्यार्थीको पढाइ प्रभावित भएको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयका अनुसार विद्यालयका प्रधानाध्यापकसमेत बिहान करिब १०:१५ बजे विद्यालय पुग्ने गरेको र अन्य शिक्षकहरू १०:४८ बजेसम्म पनि आउने क्रम जारी रहने गरेको आरोप छ। शिक्षकहरू नै नियमित समयमा विद्यालय नआएपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
विद्यालयमा शिक्षकहरूको यस्तो लापरबाहीप्रति सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन्। उनीहरूले बिरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने तथा पर्सा जिल्लाका शिक्षा इकाइ प्रमुख मोतीप्रसाद भट्टराईको समेत यस विषयमा पर्याप्त चासो नदेखिएको आरोप लगाएका छन्।
स्थानीयले विद्यालयमा शिक्षकहरूको नियमित उपस्थिति सुनिश्चित गरी विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन सम्बन्धित निकायसँग अनुगमन तथा आवश्यक कारबाहीको माग गरेका छन्।


