१८ साउन, काठमाडौं । १३ वर्ष उमेर पुगेकाले बालबालिकाले जागिर (हलुका काम) खान पाउने भएका छन् । यस निम्ति बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन २०५६ मा संशोधन गरिँदै छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दर्ता गरेको बालश्रम (निषेध तथा नियमित गर्ने) ऐन संशोधन विधेयकको दफा ३ मा यस्तो व्यवस्था प्रस्तावित छ ।
‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन,’ दफा ३ को उपदफा १ मा छ ।

यहाँ स्पष्टीकरण खण्ड राखिएको छ । स्पष्टीकरणमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि ‘बालबिकाससँग सम्बन्धित काम’ भन्नाले बालबालिकाको शारीरिक वृद्धि र विकासका साथै मानसिक, बौद्धिक, संवेगात्मक, शैक्षिक र सामाजिक विकाससँग सम्बन्धित काम सम्झनु पर्छ ।’
उपदफा २ मा १३ वर्ष पुगेकाले बालबालिकाले हलुका काम गर्न पाउने व्यवस्था प्रस्तावित छ ।

‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निजको शैक्षिक क्रियाकलाप तथा विकासमा असर नपर्ने गरी बालबालिका स्वयं र निजको बाबु, आमा वा संरक्षकको सहमति लिई विद्यालय समय अघि, पछि वा बिदाको समयमा अनुसूची–१ बमोजिमका हलुका किसिमका काममा लगाउन सकिने छ ।’
अनुसूची–१ मा १३ वर्ष पुगेकाले गर्न पाउने हलुका किसिमका कामको विवरण छ । हलुका किसिमका कामहरूलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।


